हानिनोक्सानी कोषबाट नेपाललाई रू ३ अर्ब अनुदान स्वीकृत

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी (लस एण्ड ड्यामेज) कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ।

कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त सहयोग राशि प्रदान गर्ने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको व्यापक मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहयोगका लागि औपचारिक अनुरोध गरेको थियो।

कोषका लागि नेपालको राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक बोर्ड सदस्यसमेत रहनुभएका डा. ढकालले विकसित र विकासशील राष्ट्रका प्रतिनिधि बोर्ड सदस्यहरूसँग विभिन्न चरणमा गरिएको निरन्तर छलफल र समन्वयपछि यो सहयोग स्वीकृत भएको बताउनुभयो।

कोषको निर्णयअनुसार अब नेपालले भोटेकोशी र त्रिशूली क्षेत्रका बाढीप्रभावित समुदायलाई लक्षित गरी विस्तृत आयोजना प्रस्ताव तयार गरेर पेस गर्नुपर्नेछ। कोषको प्रचलित कार्यविधिअनुसार प्रस्ताव स्वीकृत भएसँगै प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माणका कार्यक्रमहरू अघि बढाइनेछ।

मन्त्रालयको विवरणअनुसार गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार उक्त विपद्मा परि करिब १ हजार ५०० जनाले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन्।

बाढीबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ भने क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विकासशील राष्ट्रहरूलाई विपद्बाट भएको क्षति सम्बोधन गर्न कोषले गरेको यो निर्णयलाई मन्त्रालयले अत्यन्त महत्त्वपूर्ण मानेको छ। यस निर्णयले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको अवधारणालाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।