वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ११ प्रतिशत बढी, भदौसम्म पौने ४८ अर्ब पुग्यो

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ कार्तिक। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति (नन्-बैंकिङ एसेट्स) ११ प्रतिशतभन्दा बढीले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ११.१५ प्रतिशतले वृद्धि भएको हो।

केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ) सम्ममा वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यो रकम ४२ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ४ अर्ब ७८ करोड ५ लाख रुपैयाँले बढेको हो।

समीक्षा अवधिमा १४ वटा वाणिज्य बैंकको गैर-बैंकिङ सम्पत्ति बढेको छ भने ५ वटा बैंकको घटेको छ।

हिमालयन बैंकमा सबैभन्दा धेरै गैर-बैंकिङ सम्पत्ति

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी गैर-बैंकिङ सम्पत्ति हिमालयन बैंकमा थुप्रिएको छ। समीक्षा अवधिमा यो बैंकको यस्तो सम्पत्ति ९.७४ प्रतिशतले बढेर ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकसँग ५ अर्ब ८४ करोड १ लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थियो।

त्यस्तै, धेरै गैर-बैंकिङ सम्पत्ति हुने बैंकको दोस्रो सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। समीक्षा अवधिमा यस बैंकको यस्तो सम्पत्ति ५३.४३ प्रतिशतले ह्वात्तै बढेर ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

ग्लोबल आइएमई बैंकको गैर-बैंकिङ सम्पत्ति ६.७५ प्रतिशतले घटेर ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको भदौमा यो बैंकसँग ६ अर्ब ८ करोड रुपैयाँको यस्तो सम्पत्ति रहेको थियो।

राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा सबैभन्दा कम गैर-बैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ। भदौ मसान्तसम्म बैंकमा २७ करोड ७३ लाख रुपैयाँ बराबरको मात्र यस्तो सम्पत्ति छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.९७ प्रतिशतले कम हो।

चालु आवको दुई महिनामा राष्ट्रिय वाणिज्य बैंकका साथै ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी र एभरेष्ट बैंकले आफ्नो गैर-बैंकिङ सम्पत्ति घटाउन सफल भएका छन्। यी बाहेक अन्य १३ वटा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा भने वृद्धि भएको छ।