पीएचपी’को सुरक्षा कमजोरीले बन्द भएका सरकारी वेबसाइट पुन: सञ्चालनमा

-



     सफल आवाज    
     कार्तिक ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ कार्तिक । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ (PHP) प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द भएका नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुन: सञ्चालनमा आएका छन्।

गत बिहीबारदेखि अवरुद्ध बनेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकसहित अधिकांश निकायका वेबसाइटहरू अहिले सामान्य रूपमा खुल्न थालेका छन्।

सुरक्षा अपडेट र परीक्षणपछि वेबसाइट खुले

साइबर सुरक्षासम्बन्धी निकायहरूले पीएचपीको उक्त सुरक्षा कमजोरीका कारण सम्भावित साइबर हमलाको जोखिम बढेको भन्दै तत्काल ‘सेक्युरिटी प्याच’ (सुरक्षा अपडेट) लागू गर्न र त्यसो गर्न नसकिएमा अस्थायी रूपमा वेबसाइटहरू बन्द राख्न सुझाव दिएका थिए। सोही निर्देशन बमोजिम सरकारी वेबसाइटहरू बन्द गरी मर्मत थालिएको थियो।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच (Fix) राख्ने र परीक्षण गर्ने कार्य सम्पन्न भएसँगै एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुन: सञ्चालनमा आएका हुन्।

दशैँ बिदामै खटिए कर्मचारी

अवरुद्ध सेवा छिटो भन्दा छिटो सुचारु गर्नका लागि केन्द्रका प्राविधिक कर्मचारीहरू दशैँ बिदाको समयमा पनि निरन्तर खटिएका थिए। केन्द्रले बाँकी रहेका केही वेबसाइट तथा अनलाइन सेवाहरूलाई पनि प्राविधिक मर्मत पूरा गरी शीघ्र सञ्चालनमा ल्याउन काम भइरहेको जनाएको छ।