आईपीओ निष्कासन गर्दै एशियन हाइड्रोपावर

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले हाल रहेको जारी पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागेको हो ।

यसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

सर्वसाधारणका लागि जारी हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि रहनेछ ।

निष्कासित आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन छिटोमा पुस १२ गतेसम्म र ढिलोमा पुस २७ गतेसम्म आवेदन दिने म्याद दिइनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १२ गतेभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ ।