२ वर्षदेखि साधारण सभा नगर्ने सहकारी खारेज गर्ने प्रक्रियामा ललितपुर महानगर

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



ललितपुर, २५ मंसिर । २ वर्षभन्दा बढी सयमसम्म साधारण सभा नगर्ने सहकारीलाई ललितपुर महानगरपालिकाले खारेज गर्ने भएको छ । महानगरका अनुसार २ वर्षसम्म साधारणसभा नगर्ने, लेखा परीक्षण नगराउने तथा विवरण अद्यावधिक नगर्ने सहकारी संस्थाहरु खारेजीमा पर्ने भएका हुन् ।

यस्ता सहकारीहरुको खारेजी प्रक्रिया अघि बढाउने मनशायसहित महानगरले आजदेखि ३५ दिनभित्र लिखित कारणसहित उपस्थित हुन समेत निर्देशन दिएको छ ।  आफ्नो नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुले विधिपूर्वक साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको पाइएकोले त्यस्तो कार्य नगर्न पनि सूचनामार्फत् जानकारी दिएको छ । 

महानगरले सूचनामा सहकारी संस्थाहरुले साधारण सभाको नाममा सदस्यहरुलाई कार्यालयमा बोलाएर दरखास्त गराउने र सभाका अन्य प्रक्रिया पूरा नगरी प्रतिवेदन पास गर्ने गरेको गुनासो आएको बताउँदै यस्तो कार्य नगर्न सचेत पनि गराएको छ । 

कोरोना महामारी तथा डेंगी प्रकोप देखाउँदै यस्त गतिविधि भइरहेकोमा अब न्यूनिकरण भइसकेकोले भौतिक रुपमै सबै सदस्यहरुको भेला गराएर विधिपूर्वक साधारण सभा सम्पन्न गर्न महानगरले निर्देशन दिएको हो । अनुगमन गर्दा यो निर्देशन उल्लङ्घन गरेर साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको पाइएमा जरिवानासहित गराए पुन: साधारण सभा गराउने चेतावनी पनि दिइएको छ । 

यसै सूचनामार्फत् महानगरले सहकारी संस्थाको वार्षिक साधारण सभा २०७९ पुसभित्र अनिवार्य रुपमा सम्पन्न गरी साधारण सभा सकिएको मितिले १५ दिन वा २०७९ माघ १५ गते भित्र आव २०७९/७९ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण महानगरमा पेस गर्न समेत निर्देशित गरेको छ ।