अनलाइनमा सट्टेबाजी गर्दै हुनुहुन्छ? पक्राऊ परिएला नि !

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । प्रहरीले काठमाडौंबाट अनलाइनमार्फत् सट्टेबाजी गर्ने २ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भारतको राजस्थान प्रदेश चुरु जिल्ला, सुजनगढ ठाना स्थायी घर भइ हाल काठमाडौं नरदेवी बस्ने ३२ वर्षीय पवन कुमार शर्मा तथा पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भई बुढानिलकण्ठ-८ कपन सुचा बस्ने ३७ वर्षीय रुद्र प्रसाद पोखरेल रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपि अनलाइन सट्टेबाजी भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएर गएको विशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा हिजो २४ गते बेलुका जमलबाट पोखरेललाई र आज नरदेवीबाट शर्मालाई पक्राऊ गरेको हो ।

कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई विभिन्न गेमहरुमा अनलाइन सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिई मुलुकी अपराध सहिंताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको छ ।