चालु आर्थिक वर्षमा कति भित्रियो रेमिट्यान्स ?

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर। चालु आर्थिक वर्षको ४ महिनाकाे अवधिमा नेपालमा ३ खर्ब ७८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशतले बढेर ३ खर्ब, ७८ अर्ब ४ करोड भित्रिएको हो।

अघिल्लो आर्थिक वर्षको शुरुवाती ४ महिनामा त्यसको अघिल्लो  वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ७.० प्रतिशतले गिरावट आएको थियो । विवरण अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलर रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकको विवरण अनुसार यो अवधिमा संस्थागत तथा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ९५ हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएको पाइएको छ।

यस्तै यही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्यामा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको आँकडा छ ।

यसैगरी ४ महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जारी गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको तथ्याङ्क छ ।