निफ्राको ऋणपत्रमा पुस १४ सम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । कम्पनीले गत मंसिर २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने मिति आगमी पुस १४ गतेसम्मका लागि लम्ब्याइएको हो ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याज दिनेगरी ७ वर्ष अवधिको रहेको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ का लागि आवेदन दिने म्याद थपिएको हो ।

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । यीमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको र बाँकी ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता भने सर्वसाधारणमा बिक्री गरिएको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्ने र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।