जो ५ दशकदेखि बदाम बेचेरै गुजारा चलाउँदैछिन्

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ पुस । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार कमाउँछिन् । यही आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छिन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन् । उनी ५० वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा बदाम व्यापार गरेर आफ्नो जीविकोपार्जन भएको बताउँछिन‍् ।

तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छिन् । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी आएकोमा उनी ११ वर्षकै उमेरमा  वैवाहिक बन्धनमा बाँधिइन् । बिहे भएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि  यस्तै व्यापार गर्दै आएको उनीले बताउँछिन् । एक छोरा र एक छोरीकी आमा नानीमायाँले २९ वर्ष अगाडि आफ्नो श्रीमान् गुमाइन् ।

उनले भनिन्, “बदाम एकैचोटि भण्डारण गर्न  गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर ल्याई त्यही  बेचेर आफ्नो एक्लो जीवन चलाएकी छु ।”

टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आएकी उनले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताइन् । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आएकी छिन् ।  कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि उनले समग्रमा प्रायः दैनिक ५ सय वरिपरि आम्दानी गर्दै आएकी छिन् । 

बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको  टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको उनले बताइन् । कोही कोही महानगरपालिकाका  कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना पनि उनले सुनाइन् ।

छोराको साथ नपाएकी उनले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोखिन् । उनी जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुःख आफैंका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत  गरेर आत्मनिर्भर हुनुपर्ने बताउँछिन् ।