राजनीति पूर्व-प्रमहरुको क्लब जस्तो छ : कांग्रेस महामन्त्री थापा

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन् । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे ।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’

महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए । केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्यांग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ ।’

उनले हिजो दिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोखे । ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको ।’

अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो । वर्ल्डकपमा सबैभन्दा गोल एम्बापेले हान्यो । गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो ।’

कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे । ‘एउटा पूर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ ।’

छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रीय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए । ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने ।

निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो । कार्यक्रममा दुवै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे ।

छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो। ‘हार जितको कुरा एकछिन आयो, गयो । नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने ।

यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ । निर्माण क्रम पनि सुरु हुन्छ । यो नेपाली काग्रेसको लागि टर्निङ प्वाइन्ट हो । पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं । हामी जित्छौं ।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए ।