गरिमा क्यापिटलले स्थापना गर्यो वैदेशिक रोजगारी आईपीओ हेल्प डेस्क

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । गरिमा क्यापिटलले वैदेशिक रोजगारी आईपीओ हेल्प डेस्क स्थापना गरेको छ । ग्राहकको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली सेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटलमा सहायताकक्ष सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

गरिमा क्यापिटल लिमिटेडको हेल्प डेस्कबाट निम्म प्रकारका जानकारीको लिन सकिने उनको भनाइ छ :

बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि
डिम्याट-हितग्राही र मेरोसेयर खाता खोल्नको लागि
बैंकबाट सिआरएन नम्बर लिनको लागि
सार्वजनिक निष्कासनमा आवेदन दिनको लागि

त्यसका लागि इच्छुक ग्राहकले वैदेशिक रोजगारी विप्रेषण बचत खाता र हितग्राही तथा मेरोशेयर खाता गरिमा विकास बैंक लिमिटेडको वेबसाईटमा गएर वा अनलाइनमार्फत् खोल्न सकिने क्यापिटलले जनाएको छ ।

यस अन्तर्गत सार्वजनिक निष्कासनमा आवेदन दिनका लागि निम्न लिखित मापदण्डहरु पूरा गरेको हुनु पर्दछ:

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत् आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर लिनु पर्नेछ ।

आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँआफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्नेछ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।