
कञ्चनपुर, २२ पुस । राधा जोशीको परिवार २०६६ सालमा बैतडीबाट कञ्चनपुर जिल्लामा बसाइ सरेको हो । बसाइ आउँदा उनीहरुसँग सम्पत्तिको नाउँमा केही पनि थिएन । उनीहरु एउटा छोरी काखमा च्यापेर आएका थिए । लगभग २ वर्ष माइती घरमा बसेकी राधाले माइतीमै कान्छी छोरीलाई जन्म दिइन् ।
उनका श्रीमानले कहिले साइकलमा कुखुरा बेचबिखन गर्ने त कहिले कपडाको कारोबार गर्ने गर्दथे । ऐलानी जग्गामा ओत लाग्ने सानो टहरो बनाएर बसेको देखेर मानिसहरुले मन्दिरमा पुजारी अट्नेभन्दा पनि सानो घर बनाएको भन्दै कुरा काट्ने गर्दथे । जेनतेन जोहो गरी भाडामा जग्गा लिएर कुखुरा फर्म सञ्चालन गरेकी जोशीले पहिलो पटक नै कुखुरामा आएको रोगका कारण ३ लाख जति नोक्सानी बेहोर्नु परेको थियो ।
यो पीडापछि उनका श्रीमानले साइकलमा कुखुरा तथा कपडाहरु बेच्न गाउँ गाउँ डुल्ने गर्न थाले । कारोबार गर्न आर्थिक अभावले असहज बनाउन सक्छ भन्ने कुरामा सजग रहेका उनका श्रीमानले ग्लोबल आइएमई लघुवित्तको शाखा कार्यालय आइबिआरडीको समूहमा सदस्य बन्न राधालाई आग्रह गरे । उनीहरुकै गाउँघरमा सञ्चालन भएको समूह निर्माणको तालिममा उनलाई सहभागी गराई सदस्य बन्न मञ्जुर गराए । त्यसपछि राधाले २०७५ साल भदौमा शाखा कार्यालय आइबिआरडीमा सदस्यता लिइन् ।

बिना धितो कर्जा पाइन्छ भन्नेसम्म नपत्याएकी जोशीले पहिलोपटक बिना धितो ६० हजार कर्जा लिइन् । सो रकम उनले श्रीमानको व्यापारमा लगाइन् । श्रीमानले मोटरसाइकलमा व्यापार गर्न थाले भने राधाले बचेको रकमबाट एउटा बाख्रा पनि किनिन् ।
एउटै बाख्राबाट दश पन्ध्रवटासम्म बनाउन सकिने अपेक्षासहित उनीहरुले भारतको महाराष्ट्रबाट ३ वटा उन्नत बोयर जातका बाख्राका पाठा ३ लाख ३० रुपैयाँमा किनेर ल्याई बाख्रापालन गर्न थाले । राधाले ग्लोबल आइएमई लघुवित्तबाट २०७७ साल असोजमा तीन लाख बिना धितो कर्जा लिएर खोर निर्माणमा लगानी गरिन् त्यसपछि २०७८ साउनमा फेरि ५ लाख रुपैयाँ बिना धितो कर्जा कारोबार गरी आधुनिक खोर निर्माण र दानामा लगानी गरिन् ।
अघिल्लो वर्ष ७० देखि ८० वटासम्म बाख्रा पालेकी जोशीसँग अहिले ४० बटा बाख्रा छन् । बाख्रापालनबाट वार्षिक ५-६ लाख खुद नाफा आर्जन हुने गरेको उनी बताउँछिन् । जोशी दम्पतीले बाख्राको लागि आवश्यक घाँस व्यवस्थापन गर्न जग्गा भाडामा लिई विभिन्न किसिमका घाँसहरु लगाएका छन् । उनीहरुले एउटा वटा भैंसी पनि पालेका छन् । उनको फर्ममा उन्नत जातका पाठा पाठीहरु खरिद गर्न ग्राहकहरु टाढा टाढाबाट आउने गरेको राधा बताउँछिन् ।
बाख्रा पालन व्यवसाय वृद्धि गर्न र दाना खरिद गर्नका लागि २०७९ साल असोजमा राधाले फेरि ५ लाख रुपैयाँ बिना धितो कर्जा कारोबार गरी हाल त्यसको नियमित किस्ता तिर्दै आएकी छन् । यसरी विगत ५ वर्षदेखि ग्लोबल आईएमई लघुवित्तमा आवद्ध भई पटक पटक बिना धितो कर्जा कारोबार गरिसकेकी राधा लघुवित्तलाई गरिबको उन्नतिको आधार रहेको बताउँछिन् ।
आफ्नैबाट फिर्ता पाउनुपर्ने पैसा समेत फिर्ता पाउन गारो भएको अहिलेको जमानामा शुरुमा संस्थाले बिना धितो ५ लाख कर्जा दिन्छ होला भन्ने पत्याउन नसकेरकी उनी ग्लोबल आइएमई लघुवित्तको सफल सदस्य हुन् । अहिले आफ्ना छोरा-छोरीलाई शिक्षा र स्वास्थ्य तथा आवश्यकता परिपूर्ति गर्न सकेकोमा गर्व लागेको राधाको भनाइ छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



