ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि शुरु

-



     सफल आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ पुस । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले आजदेखि औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुई बैंक एक आपसमा गाभिएर हुन लागेको एकीकृत कारोबारको प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने भएका छन् ।

काठमाडौंमा अहिले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीचको औपचारिक एकीकृत कारोबारका लागि कार्यक्रम भइरहेको छ । टुगेदर फर मोर तथा  ग्रोइङ टुगेदर फर नेशन बिल्डिङ नारासहित यी दुई बैंकले आजदेखि औपचारिक एकीकृत कारोबार गर्ने भएका हुन् ।

ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमाण्डू लि. मर्जर पछि ग्लोबल आइएमई बैंक लि. को नामबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ हुने भएको छ । आइएमई बैंक लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । यसैगरी बैंक अफ काठमाण्डू लिमिटेडको गत मंसिर २३ मै सम्पन्न २८औं वार्षिक साधारण सभाले बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज भएका हुन् ।

बैंक अफ काठमाण्डूको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जरपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ खर्ब, कुल पुँजी ५७ अर्ब्, कुल निक्षेप ४ खर्ब १२ अर्ब. कुल ऋण ३ खर्ब ७७ अर्ब, कुल ग्राहक सङ्ख्या ४० लाख तथा कुल सेवाग्राही केन्द्र विदेशमा समेत गरी १ हजार १ सयभन्दा बढी हुने बैंकले जनाएको छ ।  

मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नेछन्। साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डूका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन्।