प्रभु र सेञ्चुरी बैंक गाभिए, आजदेखि एकीकृत कारोबार

-



     सफल आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २६ पुस । प्रभु बैंक लिमिटेड तथा सेञ्चुरी बैंक लिमिटेड आधिकारिक रुपमा एक आपसमा गाभिएका छन् । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियोमा प्राप्ति गरी आजदेखि प्रभुको नाममा एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

एकीकृत कारोबार शुभारम्भका अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अनगिन्ति सम्भावनाहरुलाई सार्थकता प्रदान गर्दै अर्को एउटा सहयात्री समाहित गरेर अझ बृहत् र परिष्कृत रुपमा उपभोक्ताको उन्नति प्रगति र आरोह अवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यसैगरी साविक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ साझेदारी गर्न सफल भएको बताउँदै प्रभु बैंक नम्बर १ बैंक बन्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सबैभन्दा कान्छो बैंकको रुपमा स्थापित भएको सेञ्चुरी बैंक यो मर्जरपछि ७ औँ स्थानमा आइपुगेको छ ।

यो प्राप्तिपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र साविक सेञ्चुरी बैंकबाट ३ जना रहनेछन् । बैंकको नाम प्रभु बैंक लिमिटेड नै रहने र मुख्य कार्यालय बबरमहलको प्रभु भवनमै रहनेछ । बैंकको सीईओ हाल प्रभु बैंककै सीईओ अशोक शेरचन नै कायम हुनेछन् भने सेञ्चुरी बैंकका सीईओ भने नयाँ बनेको प्रभु बैंकको सिनियर डेपुटी सीईओका रुपमा रहने सहमति भएको छ ।

गत साउन १५ गते प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सहमति भएको हो । यो सहमतिपछि नयाँ बनेको बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब तथा चुक्ता पुँजी २३ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल निक्षेप २ खर्ब ८४ अर्ब र कुल ऋण २ खर्ब ५३ अर्ब रहेको बैंकले जनाएको छ । ३० लाख ग्राहक सङ्ख्या रहने बैंकको देशभरमा ३६५ वटा शाखा ३०९ वटा एटीएम सञ्जाल तथा ७२ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्नेछ ।