
काठमाडौं, २७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन् ।
दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब र कुल पुँजी ५८ अर्ब पुगेको छ । त्यस्तै कुल निक्षेप ३ खर्ब ६० अर्ब र कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल २ सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम २ सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनेछन् ।
त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहनेछिन् । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।
त्यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गीकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उनको भनाइ छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय एकापसमा गाभ्ने/गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ वाणिज्य बैंक एकापसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर ४ वटा कायम भएका छन् ।
यसअघि प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गरी मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आईएमई बैंक लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार थालेका थिए । त्यस्तै कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।
हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने शुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएका छन् । आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । त्यस्तै लक्ष्मी बैंक र सनराइज बैंकले पनि एकापसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



