रोटरी क्लब अफ कीर्तिपुरको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ माघ । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर मेला तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कीर्तिपुर-२, मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा आयोजित उक्त कार्यक्रम रोटर्याक्ट क्लब अफ कीर्तिपुर, प्राइम हेल्थ हब, कीर्तिपुर आँखा अस्पताल, कीर्तिपुर नगरपालिका, नेवा एफएमलगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको थियो ।

कार्यक्रमको रोटरी क्लबको अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्य तथा विशेष अतिथि स्वास्थ्य सेवा प्रमुख सान्तमान मानन्धर रहेका थिए । यसैगरी कीर्तिपुर प्रहरी बृत्तका डिएसपी पुरुषोत्तम पान्डे, इशानेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव खनाल, रोट्र्याक्ट क्लबका अध्यक्ष राहुल बिसुन्खे, कीर्तिपुर-२ का वडा सदस्य नेत्र बहादुर भट्टराई, रमेशमान डंगोल, विष्णुबहादुर कार्की, डा मनिता श्रेष्ठ राजकर्निकार, साबित्रा पान्डे लगायत अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रममा ११ जना चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

शिविरमा जनरल चेकअप, प्रेसर, सुगर, नाक-कान-घाँटी, छाला रोग, दन्त परीक्षण, पोषण परामर्श, आँखा जाँच तथा मोतबिन्दु , स्त्री रोग तथा पाठेघरको क्यान्सर जाँच सेवा निःशुल्क प्रदान गरिएको क्लबको अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।

क्लबका सचिव श्याम शाहका अनुसार शिविरमा ५२८ जनाले सेवा लिएकोमा १३७ जनाको आँखा परीक्षण गर्दा १२ जनामा मोतिबिन्दु देखिएको र उनीहरूको कीर्तिपुर आँखा अस्पतालमा रोटरी क्लबको सहकार्यमा निःशुल्क आँखा अपरेसन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि उपमेयर शुभलक्ष्मी शाक्य र कार्यक्रमका अध्यक्ष अधिकारीले संयुक्तरुपमा रक्तदाता, चिकित्सक, आर्थिक र औषधि सहयोग गर्न व्यक्ति तथा संस्थालाइ सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा रोटरी, रोटर्याक्ट र प्राइम हेल्थ हबका ४० जना स्वयंसेवक परिचालन गरिएको थियो भने लायन्स क्लब अफ काठमाडौं दिव्य दृष्टि र लायन्स क्लब अफ काठमाडौं अपेक्षा बाटिकाको पनि विशेष सहयोग रहेको थियो ।