पोखरा विमान दुर्घटना : हालसम्म २६ जनाको शव पहिचान

-



     सफल आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित



पोखरा, २ माघ । हिजो आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र तीमध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिएका हुन् ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले बताए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारमा कठिनाइ भएको उनको भनाइ छ ।

आइतबार बिहान पोखराको नयागाउँ नजिकैकाे सेती खोंचमा दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित ५ देशका ७२ सवार रहेका थिए ।

दुर्घटनामा चालक दलका ४ सदस्य र बाँकी ६८ जना यात्रु गरी कुल ७२ जना सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पुष्टि गरेको हो । विमानमा रहेका ७२ जनामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसी, १ जना आयरल्याण्डका, २ जना कोरियाली, १ जना अर्जेन्टिनी, १ जन अष्ट्रेलियाली तथा १ जना फ्रान्सेली रहेको पुष्टि भएको थियो । विमानमा सवार यात्रुमध्ये ३ जना बालबालिका रहेका थिए ।