
पोखरा, ३ माघ । यति एयरलाईन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शवलाई आज पोखरा शान्तिघाटमा अन्तिम दाह संस्कार सम्पन्न गरिएको छ ।
पोखरा ११ फूलबारीस्थित उनको घरदेखि मुस्ताङचोकमा रहेकाे नेपाल पत्रकार महासंघको भवन र त्यहाँबाट पोखरा नयाँबजारस्थित शान्तिघाटसम्म शवयात्रा गरी शवको अन्तिम संस्कार सम्पन्न गरिएको हो ।
यसअघि बिहान ८ वजेपछि उनको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुझेर पोखरा ११ फूलबारीस्थित घरमा लगिएको थियो । घरमा आफ्नो संस्कार अनुसारको कर्म पुरा गरेपछि शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मुस्ताङचोकस्थित नेपाल पत्रकार महासंघको परिसरमा राखिएको थियो ।
उनको शवमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, निवर्तमान कानून मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत दलका नेता, शुभेच्छुक र पत्रकारहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघको झण्डा ओडाएका थिए ।
सो अवसरमा महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले त्रिभुवनले कलिलो उमेरबाट शुरु गरेको पत्रकारीता र छोटो समयमा गरेको प्रगति र क्रियाशिलताका बारेमा प्रस्ट्याएकी थिइन ।
आईतबार काठमाडौंबाट चालक दलका चार सदस्यसहित ७२ जनाले यात्रा गरेको विमान पोखरा महानगरपालिका वडा नं १५ र वडा नं ७ को सिमानामा पर्ने सेतीखोंचमा दुर्घटनाग्रस्त हुँदा पौडेलसहित सबैले ज्यान गुमाएका थिए ।
आमा पदम कुमारी पौडेल तथा बुबा स्व.डिल्लिराम पौडेलको कोखबाट २०४३ साल भदौ ७ गते जन्मिएका त्रिभुवनका १ छोरा, एक श्रीमती, आमा, दाई उत्तम, दिदि उषा तथा बहिनी रश्मी, ११ जना फुपु र एक ठूलो बुबा रहेका छन् ।
दुई दशक पत्रकारीता क्षेत्रमा निरन्तर काम गर्दै आएका पत्रकार त्रिभुवन पौडेलले १५ वर्षको कलिलो उमेरमै २०५८ सालमा स्वाभिमान पत्रिकाबाट पत्रकारिता शुरु गरेका थिए ।
सानै उमेरमा जनपक्षिय कार्य गर्न रुचाउने, प्रगतिशिल समाजको लागि काम गर्नुपर्छ भन्ने मान्यता बोकेका उनले जनयुद्धको समयमा युद्ध पत्रकारिता गरेका थिए ।
रेडियो अन्नपूर्णमा एक दशक काम गरेका उनी पछिल्लाे समयमा पोखरा हटलाईन दैनिकको प्रकाशक तथा सम्पादकको भूमिकामा रहेका थिए ।
पौडेलले नेपाल महासंघ कास्कीको सचिव भएर काम गर्दा महासंघको भवन निर्माणको लागि उल्लेखनिय कार्य गरेकोमा सबैको प्रशंसा बटुलेका थिए । महासंघको निर्वाचनमा सधैं सर्वाधिक मत प्राप्त गर्दै आएका पौडेल महासंघ कास्कीको उपाध्यक्ष भएका थिए ।
देश संघीयतामा गएपछि संघीय संरचनामा गएको पत्रकार महासंघ गण्डकीको उनी २०७५ देखि २०७७ का संस्थापक अध्यक्ष भएका थिए भने हाल महासंघको केन्द्रीय सदस्य रहेका थिए ।










काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



