हवाई दुर्घटनामा अत्यधिक जलेका शव पहिचानमा समस्या

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित



पोखरा, ८ माघ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भन्नुभयो, “आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ ।”

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताउनुभयो । डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२  दिन लाग्ने उनले जानकारी दिए ।

फरेन्सिक जाँचका लागि ४८ वटा शव काठमाडौं ल्याइएको थियो । यस्तै पोखरामा २२ शवको फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।