
तुलसीपुर, १३ माघ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो ।
“शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”, उनले भनिन्, “निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ ।” ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो । उपप्रमुख चौधरीले अहिले धावनमार्गको डिपिआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताइन ।
उनले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको बताइन। तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ । सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो । हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो ।
हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर भाडा भने घट्न सकेको छैन । हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ ।
निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



