कृषि विकास बैंकको सीईओ बन्न होडबाजी, २२ जनाले दिए आवेदन

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि होडबाजी देखिएको छ । बैंकले आह्वान गरे अनुसार सीईओ पदका लागि २२ जनाले आवेदन दिएका छन् । सीईओ पदका लागि आवेदन दिने अन्तिम मिति हिजो माघ १५ गते सम्म तोकेर दरखास्त आह्वान गरेकोमा जम्मा २२ जनाले आवेदन दिएकाे जानकारी प्राप्त भएकाे छ।

कार्यकाल सकिएपछि अनिल उपाध्याय बैंकको सीईओ पदबाट पदमुक्त भएपछि नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइएको हो । अहिले कृषि विकास बैंकको सिईओ बन्न बैंकिङ र निजमति क्षेत्रमा वर्षौं अनुभव हासिल गरेका विभिन्न व्यक्तिहरु आकाङ्क्षी देखिएका छन् ।

को को छन् आकाङ्क्षी ?

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागी वाणिज्य बैंकका पूर्व सीईओ तथा सीडीएससीका सीईओलगायतको आवेदन परेको छ । ती बाहेक नेपाल सरकारका पूर्व सहसचिव तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरु पनि २२ जना आवेदन दिने सूचीमा देखिएका छन्।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदका आकाङ्क्षीहरुमा सिभिल बैंकका पूर्व सीईओ गोबिन्द गुरुङ, सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्य, कृषि विकास बैंकका डिजिएमहरु प्रताप सुवेदी र यज्ञ प्रकाश न्यौपाने रहेका छन् । यसका साथै राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कविराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ र कुमार केसीको पनि आवेदन परेको छ ।

यस्तै आवेदन दिने अन्य आकाङ्क्षीहरुमा बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, अशोक कुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोदबाबु तिवारी रहेकाे बैंकले जनाएको छ ।