दुर्घटना भएको यतीको ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइयो

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । गत माघ १ गते पोखराको सेती खोँचमा दुर्घटना भएको यती एयरको विमानको ब्ल्याक बक्स अनुसन्धानका लागि सिंगापुर पठाइएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीका अनुसार ब्ल्याकबक्स लिएर दुर्घटना जाँचबुझ आयोगका संयोजक नगेन्द्र प्रसाद घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद बाँस्तोला र सदस्य सचिव एवं सहसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएका हुन् ।

नेपालबाट गएका प्रतिनिधि यही साता भित्रै नेपाल फर्कने योजना रहेको उनले जानकारी दिए । प्रवक्ता एवं सहसचिव केसीका अनुसार सिंगापुरमा ब्ल्याकबक्स भित्र रहेको एफडीआर र सिभीआर डाटा डाउनलोड, विश्लेषण लगायतको काम हुनेछ । ब्ल्याकबक्स लिएर गएको नेपाली टोली भने यसै हप्ता नेपाल फर्कनेछन् ।

गएको माघ १ गते काठमाडौंबाट पोखरा गएको यती एयरलाइन्सको विमान सेतीखोँचमा दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । घटनाको कारण पत्ता लगाउनका लागि सरकारले जाँच आयोग गठन गरेको थियो ।

४५ दिनको समयावधि तोकिएको आयोगमा पूर्व सचिव घिमिरे संयोजक रहेका छन् । यसबाहेक हवाई विज्ञद्वय पूर्वउपरथी दीपकप्रसाद बाँस्तोला र पूर्व क्याप्टेन सुनिल प्रधान तथा हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा सदस्य रहेका छन् । आयोगको सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लामिछाने छन् ।