गृहमन्त्री नपाए सरकार छाड्ने रवि लामिछानेकाे चेतावनी

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बेलुकासम्म रास्वपालाई गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका लामिछानेले बेलुकासम्म रास्वपालाई गृहमन्त्री दिने निर्णय नआए सरकार छाड्ने चेतावनी दिएका हुन् ।

पार्टीका लागि माग गरे पनि लामिछाने आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री पद पुन: लिन चाहेको बुझिएको छ । गत शुक्रबार नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेको सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत खारेज भएको थियो । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा भने उनलाई पार्टी बैठकले पुन: सर्वसम्मत चयन गरिसकेको छ ।

शुक्रबार नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएपछि आइतबारै रास्वपाको पार्टी सभापति मनोनित भएका थिए । लामिछाने बर्खास्त भएसँगै गृहमन्त्री पद खाली रहेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई नै गृह मन्त्रालयमा पुन: फर्काउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए ।

तर प्रधानमन्त्री दाहालले भने गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने र लामिछानेको नागरिकता विवाद मात्र सुल्झिएको र राहदानीको विवादमा अझै टुंगो लागिनसकेकाले सबै विवादको पूरर्णपाठको फैसला नआउन्जेल गृह मन्त्रालय लामिछानेलाई दिन नसकिने बताउँदै आएका छन् ।