ऋणपत्र निष्काशन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागिएको बताएको छ । बैंकले जारी गर्ने ऋणपत्रको नाम ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ रहेको छ ।

यो ऋणपत्रको अवधि ५ वर्षको हुने तथा लगानीकर्तालाई वार्षिक १०.३० प्रतिशत ब्याजदर दिने गरी बिक्री खुला गर्न लागिएको हो । यसरी जारी हुने प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका हुने र जम्मा २४ लाख इकाइ निष्कासन गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार जारी हुनेमध्ये ६० प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्ता ऋणपत्रबाट उठ्ने १ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यसबाट बाँकी रहेको ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपुँजी रकम भने सर्वसाधारणको लागि निष्कासन गरिने बुझिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये पनि ४८ हजार कित्ता सामूहिक लागनी कोषका लागि बाँडफाँट गरिएको छ । यसरी जारी ऋणपत्रमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको बैंकको ऋणपत्र निष्कासनको प्रारम्भिक बन्द हुने मिति आगामी फागुन १ गतेलाई तोकिएको छ । उक्त मितिसम्म माग अनुसार पर्याप्त आवेदन नपरेको खण्डमा बैंकले ढिलोमा फागुन ११ गतेसम्म म्याद थप गर्ने तय गरेको छ ।