जनवरीमा ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । सन २०२२ को जनवरी महिनामा नेपालमा ५५ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना विदेशी पाहुना नेपाल भित्रिएका हुन्।

नेपाल आएका यी सबै पर्यटक हवाई माध्यमबाट भित्रिएकाे बताइएको छ । सन् २०२२ को डिसेम्बरमा ६७ हजार ९ सय ३२ पर्यटक आएका थिए । जनवरीको मध्यतिर भएको विमान दुर्घटना र पर्यटकका लागि अफ सिजन भएका कारण पनि जनवरीमा पर्यटक घटेको आकलन गरिएको छ ।

निर्देशक लामिछानेका अनुसार अहिले अफसिजन भए पनि जनवरीमा नेपाल भित्रिने विदेशीको पाहुनाको आकारले राम्रै संकेत गरेको छ । हवाई दुर्घटनापछिको सन्देशले केही प्रभावित पारेपनि जनवरीको आगमनको संख्या तुलनात्मक रुपमा राम्रो भएको उनको भनाइ छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने

यसअघिका ३ वर्ष कोरोना सङ्क्रमणका कारण जनवरी महिनामा पर्यटक आगमन निकै कम हुने गरेकोमा यस पटकको सुधारिएको आँकडाले भने निकै आशावादी बनाएको बोर्डको भनाइ छ । तथ्याङ्क अनुसार डिसेम्बरको तुलनामा जनवरीमा पर्यटक आगमन झन्डै ८० प्रतिशत रहेको छ जुन अफसिजन भएकाले आफैंमा राम्रो हो ।

बोर्डका निर्देशक लामिछानेका अनुसार यो जनवरीमा सबैभन्दा बढी भारतबाट १६ हजार ४ सय ३६ जना पर्यटक आएका छन् । यसैगरी अमेरिकाबाट ६ हजार ५ सय ६१ र अस्ट्रेलियाबाट ३ हजार ४ सय ४१ पाहुना आएका छन् । सूचीको चौथो नम्बरमा बंगलादेशबाट २ हजार ४ सय ६८ पर्यटक नेपाल भित्रिएका छन् । यी सबै पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको बोर्डले जनाएको छ ।