भारतीय धनाढ्य अडानीले १ हप्तामै गुमाए १ खर्ब डलर

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



नयाँ दिल्ली, १९ माघ । अडानी समूहका कम्पनीहरुको स्टक मूल्य १ हप्तामा लगभग १ सय अर्ब अर्थात् १ खर्ब अमेरिकी डलरले घटेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्च नामक अनुसन्धान संस्थाको नकारात्मक प्रतिवेदनका कारण सेयरको मूल्य लगातार ओरालो लागेपछि अडानी समूहका कम्पनीहरूले उक्त परिमाणमा घाटा ब्यहोर्नुपरेको हो ।

यसै क्रममा अडानी इन्टरप्राइजेजलेले एफपीओ जारी गरेर संकलन गरेको २० हजार करोड अर्थात् २ खर्ब सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने निर्णय गरेको छ ।

आज बिहान अडानी समूहको मुख्य संस्था अडानी इन्टरप्राइजेजको सेयर केहि उकालो लागे पनि समग्रमा १० प्रतिशतले तल  झरेकोले उक्त परिमाणको घाटा हुने भएको हो । यसबाहेक अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन, अडानी टोटल ग्यास, अडानी ग्रीन एनर्जी र अडानी ट्रान्समिसन जस्ता समूहका अन्य कम्पनीहरूको सेयर मूल्यमा पनि लगभग १०/१० प्रतिशतले गिरावट आएको छ ।

उनका अन्य २ कम्पनी अडानी पावर र अडानी विलमारको सेयरमूल्य ५/५ प्रतिशतले घटेको छ । यो गिरावट चल्दै गर्दा १ हप्ताको बीचमा गौतम अडानी फोर्ब्सको धनाढ्यहरूको सूचीमा १६औं स्थानमा झरिसकेका अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।