ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

-



     सफल आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले आगामी माघ २९ गतेदेखि वार्षिक ११.२५ प्रतिशत ब्याजदर र ५ वर्ष अवधि रहेको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको बताएको छ ।

बैंकले निष्कासन गर्न लागेको प्रतिऋणपत्र एक हजार अंकित दरका रहने र समग्रमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता जारी हुने बताइएको छ । त्यसमध्ये ६० प्रतिशतले हुन आउने ३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ बैंकले जनाएको छ । बाँकी ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता भने सर्वसाधारणमा बिक्री गरिने तय भएको छ।

सर्वसाधारणका लागि छुट्‍याइएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता सहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

माघ २९ देखि जारी हुने ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेगरी व्‍यवस्था मिलाइएको छ । यो ऋणपत्रको निष्कासन छिटोमा फागुन ३ गते बन्द हुनेछ । उक्त अवधिसम्म तोकिए बमोजिम आवेदन नपरेमा बैंकले आगामी फागुन १४ गते सम्म म्याद लम्ब्याउनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसबाहेक सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।