सुरु भयो रवि लामिछानेको राहदानीबारे अनुसन्धान

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान सुरु भएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरीमा अहिले प्रहरीले अनुसन्धान थालेको हो । केहीदिन अघि सफलले दिएको यही जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको बताएका छन् । नागरिकताबारे छानबिन गर्नका लागि आएको पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान गरिरहेकाले राहदानीको जाहेरी नलिइएकोमा युवराज सफलको अर्को जाहेरी आएपछि त्यसैमा थपेर अनुसन्धान थालेको उनको भनाइ छ ।

सफल गत माघ १७ गते लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ आइनसकेकाले नमिल्ने भन्दै प्रहरीले जाहेरी दर्ता गरेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि कारबाही हुनुपर्ने सफलको माग छ । उनले लामिछानेको राहदानी तथा राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नै खारेज हुनुपर्ने मागसहित राहदानी विभाग, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं तथा निर्वाचन आयोगमा पनि जाहेरी दिएका छन् ।

सरकारी वकिलको कार्यालयमा जाहेरी पुगेपछि प्रहरीले अनुसन्धान थालेको बुझिएको छ । प्रहरीले कुनै जाहेरी लिन नमान्दा वा लिन नसकिने जनाएको खण्डमा सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिन सकिने कानुनी व्यवस्था रहेको छ ।