अध्यक्ष ओलीसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

-



     सफल आवाज    
     फागुन २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीको निवास बालकोटमा भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए । भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमूना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

साथै उनले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताए। विदेशसचिव क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको आफूले पाएको उल्लेख गर्दै द्विपक्षीय सहमति कार्यान्वयनको तहमा रहेको र कार्यान्वयन नभएका सहमतिलाई पनि अघि बढाउने सहमति भएको जानकारी गराए।

विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि हिजाे आएका हुन्। यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी भए। विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।