राष्ट्रपति पनि एमालेलाई दिने हो भने बर्बाद हुन्छ : अध्यक्ष नेपाल

-



     सफल आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित



पोखरा, ३ फागुन । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति चयनको लागि सहमतिको प्रयास भईरहेको बताएका छन् । उनले सबैले स्वीकार गर्नसक्ने उम्मेदवार हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । सहमति नभएसम्म राष्ट्रपतिमा हावादारी उम्मेदवारी नदिने जिकिर गरे।

अध्यक्ष नेपालले नेकपा एमालेप्रति कटाक्ष प्रस्तुत गर्दै भने, सभामुख एमालेको छ, राष्ट्रिय सभाको अध्यक्ष पनि एमालेको छ । राष्ट्रपति पनि एमालेलेलाई दिने हो भने बर्बाद हुने उनले बताए । तर उनले कस्तो बबार्द हो खुलाउन चाहेनन् ।

नेपालले अहिलेको गठबन्धनलाई खिचडीको संज्ञा दिदै भने, यो गठबन्धन संविधान, गणतन्त्र र परिवर्तनप्रति प्रतिवद्ध छैन बरु त्यहाँ बिरोधी छन् ।

मुलुकमा प्रतिगमनको खतरा रहेको बताउँदै उनले हामीले उखेलेर मिल्काएका पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा मेची नदीको किनारमा गरीएको कार्यक्रम त्यसैको प्रारुप भएको बताए । यसका विरुद्ध परिवर्तनका पक्षधरहरु एकताको सुत्रका बाँधिन आवश्यक भएको उनको भनाई थियो ।

पोखरामा आउँदा तरंग पैदा गर्ने कुराहरु लिएर आएको र माधव नेपालले तरंग पैदा गर्नेगरी बोल्छ भन्ने ठान्नु भएको होला तर म आज तरंगित बनाउदिन । यदि बोले भने त फेरि सबै खुलिहाल्छ गर्नै हुँदैन । मेरो संकेतबाट बुझ्नुभयो होला ।

समाजवादी प्रेस संगठनले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री रहेका नेपालले मुलुकमा अहिले तरल राजनीति रहेको र यसको निकासको लागि प्रयास भईरहेको बताए ।

आफ्नो पार्टी बिचारकेन्द्रीत पार्टी भएकोले जनताकोहित, परिवर्तनको हित र राष्ट्रियताको पक्षमा उभिएको बताए । उनले लोकतन्त्रका पक्षधर शक्तिहरुसंग हातेमालो गरेर अघि बढ्ने पनि बताए ।

हामी गणतन्त्रको पक्षधर हौं । गणतन्त्र र संविधानको रक्षाका लागि अडिग रहेका छौं । परिवर्तनप्रति बफादार भएर जानुपर्छ । परिबर्तनलाई उल्ट्याउन खोज्नेहरु बिरुद्ध, कुशासन, गैह्रजिम्मेवार प्रबृत्तिका विरुद्ध उभिनुपर्छ, उनले भने ।

विकास न्याय र समृद्धिका लागि हामी लडिरहेका छौं । समाजवादतर्फको यात्रामा हामी मन, बिचार मिल्नेहरुसंग मिलेर, सहकार्य गरेर, संभव भएमा मोर्चा र एकताबद्ध भएर जाने बताए । उनले समाजवादी पार्टी कुनै पार्टीमा विलय नहुने र त्यस्तो भ्रम नपाल्न पनि अनुरोध गरे ।