हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ मा

-



     सफल आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ फागुन । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्तिम स्वीकृति दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो । राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो ।

हिमालयन बैंक र सिभिल बैंकबीच १ सय बराबर ८० कित्ता  ९१००ः८०० को स्वाप रेसियो अर्थात् सिभिल बैंकको १ सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए । एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि २ दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

यही फागुन १२ गते हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैंकको शेयर रोक्का हुने भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो । यही फागुन १२ गते हिमालयन बैंकसँग मर्ज हुन लागेको सिभिल बैंकको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हुन लागेको हो ।