‘आठौं बिल्डकन एक्स्पो’ मा १५० बढी स्टल, विभिन्न क्षेत्रका आगन्तुकको बाक्लो उपस्थिति

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । फागुन ११ गते बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोमा आगन्तुकहरुको बाक्लो उपस्थिति देखिएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको एक्स्पोको बिहीबार शहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका थिए ।

उक्त एक्स्पो आगामी फागुन १४ गतेसम्म सञ्चालन हुने आयोजक मिडिया स्पेस सोलुशन्का श्रीजल भट्टराइले जानकारी दिए । उद्घाटनका दिन आगन्तुकहरुको उपस्थिति कम देखिएपनि आज विभिन्न निर्माण व्यवसायी, इन्जिनियरिङ कलेज लगायत क्षेत्रका आगन्तुकहरु प्रदर्शनीस्थल भित्र उल्लेख्य सङ्ख्यामा देखिएकाे भट्टराइले बताए ।

निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताइएको छ । एक्स्पोमा १५० भन्दा बढी स्टल रहेका छन ।

प्रदर्शनीस्थालमा निर्माण व्यवसायसँग सम्बन्धित छड, काष्ठ सामग्री, अलुमिनियम उत्पादन, सिमेन्ट, ब्याट्री, तथा जेनेरेटर निर्माण रसायन वाटर प्रुफिङ, फ्लोरिङ तथा पार्केटिङ, लिफ्ट, रंग, मार्बल, प्लम्बिङ, फिटिङ, टाइल तथा बाथरुमका सामान, पिभीसी, यूपिभीसी, छाना, लाइट तथा प्रिफ्याबलगायतका विभिन्न सामग्री, उपकरण, डिजाइन तथा परामर्श सेवासम्बन्धित लगायतका १५० भन्दा बढी स्टल राखिएका छन् ।

नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीले प्रिमियर स्टीलका ब्राण्ड मेनेजर सजल राउत भन्छन्, ‘हामीले विशेषगरी फलामे छडसँग सम्बन्धित सामग्रीहरु यो प्रदर्शनीमा राखेका छौं । यसबाहेक प्रिमियर स्टीलकै ‘वायर’ सँग सम्बन्धित उत्पादनहरु प्रस्तुत गरेका छौं ।’

उनका अनुसार गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकको आवश्यकताहरुलाई पूरा गर्ने र गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले देशभर ६ सयवटा रिटेल आउटलेट खोल्न सफल भएको छ ।

शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रिमियर स्टील अहिले पूर्वी नेपालकाे विशाल उपलब्धि बन्न पुगेको कम्पनीको दावी छ । दैनिक ८ सय टनभन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा रहेको छ ।

कम्पनीका ब्राण्ड मेनेजर राउतले सरकारी कर्मचारी, निर्माण व्यवसायी, इन्जिनीयर, इन्टेरियर डिजाइनिङ, डिलर तथा वितरकलाई विशेष लक्षित गरिएको प्रदर्शनीमा भोलि शनिबार आगन्तुकहरुको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको बताए ।

बिल्डकन अर्थात् बिल्डिङ र कन्स्ट्रक्सनसँग सम्बन्धित प्रदर्शनी भएकाले यसमा नेपाल, भारत, जर्मनीलगायत विभिन्न देशका कम्पनीहरुको स्टल रहेको छ । नेपालका केही र अत्यधिका भारतीय कम्पनीहरु प्रदर्शनीमा देख्न सकिन्छ ।

नेपालका प्रिमियर स्टील, हुलास आइरन, विभिन्न अन्तरराष्ट्रिय कम्पनीका हेभी इक्विपमेन्ट सप्लायर बीएस ट्रेड इन्टरनेशनल लगायतले आफ्ना विभिन्न उत्पादन, सेवा तथा तिनीहरुको झल्को दिने डिजाइनहरु पनि राखेका छन् ।

अर्को आयोजक संस्था फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सका अनिकेत गुप्ताका अनुसार दुवै कम्पनीको संयुक्त आयोजनामा यसअघि नेपाल वुड इन्टरनेशनल एक्स्पो, नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो, नेपाल कन्स्ट्रक्शन मेशिनरी एण्ड हेभी इक्विपमेन्ट इन्टरनेशनल एक्स्पो, नेपाल ५पी इन्टरनेशनल एक्स्पो, चितवन इन्टरनेशनल इन्डस्ट्रियल एक्स्पो, नेपाल एमयूएफ एक्स्पो, नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना भइसकेकाे र केहि हुने क्रममा रहेकाे बताइएकाे छ ।