प्राधिकरणले दियो रिलायन्स र सानिमा लाइफलाई मर्जरको अन्तिम स्वीकृति

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । नेपाल बीमा प्राधिकरणले रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीलाई मर्जर जान अन्तिम स्वीकृति दिइएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यी दुई कम्पनीबीच गएको असार २९ गते एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । त्यस प्रयोजनका लागि दुवै कम्पनीले गएको फागुन १२ गते वार्षिक साधारण सभा डाकेर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सभाले यी दुवै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन अर्थात् डिडिए तथा अन्य सम्बन्धित मूल्य तथा मान्यता समेतका आधारमा १ बराबर १ सेयर अनुपात कायम गर्नेगरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेका थिए ।

रिलायन्स लाइफको चुक्ता पुँजी अहिले २ अर्ब १० करोड रूपैयाँ रहेको छ । त्यस्तै सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ रहेको बताइएको छ । यी दुई कम्पनी गाभिएर बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ हुनेछ । यसैगरी मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कायम भई सोही नामबाट जीवन बीमा व्यवसायको एकीकृत कारोबार हुने जनाइएको छ ।