सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ आजदेखि खुला

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि सार्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ । हाइड्रोले निष्कासन गरेको ४२ लाखभन्दा बढी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । १०० रुपैयाँका दरले कुल ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

यसरी निष्कासितमध्ये ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणका लागि रहेको छ । २ लाख ४९ हजार ९३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित छ । यसअघि नै कम्पनीले १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री तथा बाँडफाट गरिसकेको अवस्था छ ।

यसरी सर्वसाधारणका लागि छुट्याइएको परिमाणमा बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । उक्त आइपीओमा आवेदन दिन आगामी चैत ३० गते सम्म म्या‍द तोकिएको छ ।

हाइड्रोले ७३ मेगा वाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ जसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । प्रति मेगावाट लागत १८ करोड २६ लाख रुपैयाँ हुने र ६.७३ वर्षमा साधारण लगानी फिर्ता गर्ने कम्पनीले जनाएको छ।