यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको तलब तथा सुविधा

-



     सफल आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हालै नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । उपराष्ट्रपतिको निर्वाचन पनि आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । १ जना संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुन्छ । तिनै सांसदले नै मतदान गरेर मुलुकको चौथो उपराष्ट्रपति चुन्दैछन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको तलब, सुविधा कति हुन्छ भन्ने आम मानिसको चासोको विषय हुन सक्छ । पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ ले व्यवस्था गरे अनुसार उनीहरुले तलब र अन्य सुविधा पाउँछन् । यो ऐनलाई गत कात्तिकमा संशोधन पनि गरिएको थियो ।

राष्ट्रपतिको सेवा सुविधा

ऐनमा व्यवस्था भए अनुरुप राष्ट्रपतिले प्रतिमहिना १ लाख ५० हजार ४५० रुपैयाँ तलब पाउँछन‍् । यसैगरी उपराष्ट्रपतिका लागि मासिक तलब १ लाख ८ हजार ३० रुपैयाँ तोकिएको छ ।

तलब बाहेक राष्ट्रपति तथा उपराष्ट्रपति दुवैले अन्य सुविधा पनि प्राप्त गर्छन् । राष्ट्रपतिका लागि पोशाक सुविधा वार्षिक २५ हजार, स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार ३०० रुपैयाँ तथा विदेश भ्रमणका बेला दैनिक २५० अमेरिकी डलर भत्ता छुट्याइएको छ । साथमा २५ लाख रुपैयाँको बीमा र २९ जना आफ्नो सहयोगी राख्न पाउने व्यवस्था ऐनले गरेको छ ।

राष्ट्रपतिको १ लाख ५० हजार ४५० रुपैयाँ चाडबाड खर्च, १ जना चिकित्सक, बिरामी हुँदा स्वदेश वा विदेशमा भएको सम्पूर्ण खर्च र ३ जनासम्म कुरुवाको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । यसबाहेक अतिथि सत्कार र भैपरी आउने खर्चको लागि मासिक १ लाख ५० हजार ४५० रुपैयाँ छुट्याइएको हुन्छ । आवास, सञ्चार, इन्धन, सबै सरकारले नै उपलब्ध गराउँछ भने पदबाट विदाई भएको १ महिना सम्म राष्ट्रपतिको मासिक तलब आउने व्यवस्था छ ।

उपराष्ट्रपतिको सेवा सुविधा

उपराष्ट्रपतिले पनि तलबबाहेक पोशाक सुविधा वार्षिक २० हजार, स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार ३०० रुपैयाँ, विदेश भ्रमणका बेला दैनिक २५० अमेरिकी डलर प्राप्त गर्दछन् । साथमा २५ लाखको बीमा र १५ जना सहयोगी राख्न पाउने व्यवस्था गरिएको ऐनमा उल्लेख छ ।

बस्नको लागि घर, कतै जाँदा लाग्ने ईन्धन, सञ्चार खर्च सबै सरकारले ब्यहोर्ने व्यवस्था छ । यसबाहेक १ लाख ८ हजार ३० रुपैयाँ चाडबाड खर्च, १ जना चिकित्सक, बिरामी परेका बेला स्वदेश र विदेशमा भएको सबै खर्च र ३ जनासम्म कुरुवाको खर्च समेत नेपाल सरकारले ब्यहोर्छ । साथमा आतिथि सत्कार र भैपरी आउने खर्चको लागि मासिक १ लाख ८ हजार ३० रुपैयाँ छुट्याइएको हुन्छ ।