श्रेष्ठको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स संघले सर्वसम्मत चयन गर्यो नयाँ कार्यसमिति

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठ सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । एशोसियसनको आज चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी सचिव, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा कोषाध्यक्ष रहेका छन् ।

यसैगरी साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा एक्सल डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कट्टेल सदस्यका रुपमा सर्वसम्मत चयन भएका छन् । संघका अनुसार नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले शपथ पनि लिइसकेका छन् ।

संघको १७ औं वार्षिक साधारण सभाले कार्यसमिति चयन बाहेक आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभामा निवर्तमान अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए । यसो भए पनि सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन उनको अनुरोध थियो । आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद दिँदै सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले आजका विकास बैंकहरु व्यवसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै भएको बताउँदै ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्न सक्नु आजका विकास बैंकहरुको उपलब्धि भएको जिकिर गरे ।

त्यसै हुनाले उनले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अझ राम्रो गर्नका लागि सहकार्यको आग्रह पनि गरे । यस्तै अप्ठ्यारो अवस्थामा पनि एसोसियसनलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा निर्वतमान अध्यक्ष प्रद्युमन पोखरेललाई नवनिर्वाचित अध्यक्षले धन्यवाद समेत ज्ञापन गरे ।