कलाकार दुर्गा बरालको शनिबार पोखरामा नागरिक अभिनन्दन

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



पोखरा, ३ चैत । बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको शनिबार पोखरामा नागरिक अभिनन्दन एवं रथारोहण गरिँदै छ । ८१ बर्ष प्रवेशको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरा विभिन्न साहित्यिक तथा वाङ्मयिक संघ

संस्थाहरूले उनको सम्मानमा नागरिक अभिनन्दन गर्न लागेका हुन् । पोखरा–३ नदीपुरस्थित बरालको निवासबाट विन्ध्यवासिनी मन्दिर परिसरसम्म रथारोहण हुँदै छ ।

वि.संं. १९९९ सालमा कास्कीको आर्बा (हाल पोखरा–१३) मा जन्मिएका वात्स्यायनले नेपाली समाज र राजनीतिका विकृति र विसंगतिलाई व्यंग्यचित्रका माध्यमबाट उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै वात्स्यायनलाई सम्मान गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा वात्स्यायनको महत्वपूर्ण योगदान छ ।

पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय समेत बराललाई नै जान्छ । पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार तथा प्रशिक्षणमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ ।