
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय सम्पादन समितिको आज बसेको बैठकले विश्वासको मत दिएर दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले उक्त निर्णय पुष्टि गरेका हुन्।
प्रधानमन्त्री दाहालले भोलि सोमबार विश्वासको मत लिँदै रहेकाले विश्वासको मत दिने र विश्वासको मत लिएलगत्तै कांग्रेसले सरकारमा सहभागी हुने प्रक्रिया थाल्ने निर्णय भएको प्रवक्ता महतले जानकारी दिए । उनका अनुसार भोलि सोमबार विश्वासको मत लिएपछि सरकारमा सहभागी हुने प्रक्रिया अघि बढाइनेछ ।
केही दिनअघि राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई माओवादीले समर्थन गरेको थियो । यसै हिसाबले पनि कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने नैतिक दबाब देखिन्छ । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिमा एमालेलाई सहयोग नगर्ने र राष्ट्रिय सहमतिमा जानुपर्ने अडान लिएपछि एमाले दाहालसँग रुस्ट भएको थियो ।
राष्ट्रपतिमा पौडेल विजयीभएसँगै एमालेले सरकार छोडेको थियो । त्यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नागरिकता विवादका कारण उपप्रधान तथा गृहमन्त्री र रास्वपा अध्यक्ष पदसमेत गुमाएका रवि लामिछानेले पुन गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो तर सरकारलाई दिएको विश्वासको मत भने फिर्ता लिएको थिएन ।
विश्वासको मत दिएको दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार भोलि सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन सफल भएमा प्रधानमन्त्रीले सरकार विस्तार गर्दै यसअघि एमालेले पाएको लगायतका मन्त्रालयको कार्यभार वितरण गर्न मन्त्रिमण्डल विस्तार गर्नेछन् । सोही विस्तारमा कांग्रेस सरकारमा जाने बुझिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




