बाइडेन २७० नजिक, ३ सय पुग्न सक्छ

-



     मनाेज अधिकारी    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित



बोस्टन (अमेरिका) २२ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा जो बाइडेनले पेन्सिल्भेनिया र जर्जियामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अग्रता लिएका छन् ।

केहीबेर अघिको ताजा मतपरिणामअनुसार पेन्सिल्भेनियामा बाइडेन ट्रम्पभन्दा करिब ६ हजार मत अन्तरले अघि लागेका छन् । यो २० इलेक्टोरल मत रहेको राज्य हो ।

यस्तै जर्जियामा एक हजारभन्दा बढी मत अन्तरले बाइडेन ट्रम्पभन्दा अघि छन् । जर्जियामा १६ इलेक्टोरल मत छ । पछिल्ला विवरणले बाइडेनको विजयी अन्तर फराकिलो हुने देखाएको छ वालस्ट्रिट जर्नलले जनाएको छ ।

बाइडेन नेभाडामा यसअघिदेखि नै अग्रस्थानमा छन् । दुवै राज्यमा मतगणना अन्तिम चरणमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म बाइडेनको कुल मत २६४ इलेक्टोरल मत छ भने ट्रम्पको २१४ मत छ । निर्वाचित हुन २७० मत आवश्यक पर्छ ।

बाइडेनको सम्भावना झन् बलियो, ट्रम्पद्धारा धाँधली गरेको आरोप

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणनाप्रति सर्वत्र चासो छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन पक्षधरले चुनावी नतिजालाई व्यग्रतापूर्वक पर्खिएका छन् । पछिल्लो अवधिमा बाइडेनको सम्भावना बढेको ठानिएका नेभाडा, जर्जिया र पेन्सिल्भेनियामा उनी विजयी भए कम्तिमा उनको इलेक्टोरल मत तीन सय पुग्नेछ ।

हालसम्म बाइडेनको २६४ इलेक्टोरल मत छ भने राष्ट्रपति ट्रम्प २१४ मै सिमित छन् । राष्ट्रपति निर्वाचित हुन कुल ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्छ । यस हिसाबले बाइडेन विजयको धेरै नजिक छन् । यद्यपी बुधबारदेखि दुवैतर्फ इलेक्टोरल मत बढेको छैन । हाल मतगणना भइरहेकामध्ये निर्णायक मानिएका केही राज्यमा दुवैतर्फ मतान्तर झिनो देखिएको छ ।

पछिल्लो अवधिमा मतगणनालाई चाखरुपूर्व हेरिएका ५ राज्य जर्जिया, नर्थ क्यारोलाइना, पेन्सिल्भेनिया, नेभाडा र अलास्काको नतिजा स्पष्ट हुन बाँकी छ । यीमध्ये नेभाडा, अलास्का र नर्थ क्यारेलाइनाको मतगणना बिहीबार खासै अगाडि बढेको छैन । जर्जिया र पेन्सिल्भेनियामा भने मतगणना तीब्ररुपमा भइरहेको छ । सुरुवातमा पेन्सिल्भेनियामा निकै पछि देखिएका बाइडेनलाई बिहीबार उत्साहजनक मत आएको छ ।

बाइडेन पेन्सिल्भेनियामा मात्रै ट्रम्पभन्दा १० प्रतिशत हाराहारी अन्तरले पछि थिए । पछिल्लो मत विवरणअनुसार यो राज्यमा ट्रम्प अहिले बाइडेनभन्दा मात्रै ०.७ प्रतिशतले अघि छन् । पेन्सिल्भेनिया २० इलेक्टोरल मत भएको राज्य हो ।

बिहीबार दिनभरको मतणनामा लाखौं मतको फड्को मार्दै उनी ट्रम्पलाई उछिन्ने अवस्थामा आइपुगेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो राज्यमा अझै १० प्रतिशत हाराहारीको मत गन्न बाँकी छ । यस्तै जर्जियाको अन्तरलाई पनि बाइडेनले बिहीबार उल्लेख्य सुधार गरेर केवल ०.०५ प्रतिशतमा झारेका छन् । यो राज्यमा १६ इलेक्टोरल मत छ । यसबाहेक नेभाडामा उनी पहिल्यैदेखि ट्रम्पभन्दा अगाडि छन् ।

यतिबेला बाइडेन थप कुनै एक राज्यको नतिजा आफ्नो पक्षमा पर्नासाथ विजयी हुने निश्चित बिन्दुमा छन् । जबकी ट्रम्पलाई विजयी हुन यी पाँचै राज्य जित्नु पर्ने हुन्छ । जुन अब असम्भवप्रायः ठानिएको छ ।विश्लेषकहरुले जर्जिया र पेन्सिल्भेनिया दुवै राज्यमा बाइडेनको स्पष्ट जित हुने दावी गर्न थालेका छन् ।

यसो भयो भने बाइडेनको विजयी अन्तर फराकिलो हुनेछ । यी दुवै राज्य सन् २०१६ मा ट्रम्पले जितेका थिए । यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाईट हाउसबाट सम्बोधन गर्दै निर्वाचनमा धाँधली भएको मिथ्था आरोप लगाएका छन् । उनले कुनै सम्भाव्य किटानी बीना आफुलाई हराउन झुटो मतपत्र गणना गरिएको आरोप लगाए ।

यसअघि उनले बिहीबार केही राज्यका केही काउन्टीमा पुनःमतदानको माग गर्दै मुद्दा समेत हालेका थिए ।