थप बजेट निकासा नभएपछि निर्माणाधिन विद्यालय भवन अलपत्र

-



     सफल आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित



नवलपरासी, १८ चैत । नवलपरासी जिल्लाकाे (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावका कारण विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन २ कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताएका छन ।

“यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, “थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन।” उनले भने । जम्मा १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ ८ लाख आवश्यक परेको केसीले बताए ।

भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा १० लाख बजेट लागेको बताइएकाे छ। । बजेटका लागि वडाध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको केसीले बताए।

कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ । विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उहाँको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जङ्गली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जङ्गली जनावरको त्रास रहेको बताए ।

यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताए । विद्यालयमा विभिन्न सङ्घसंस्थाले सहयोगले गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् । विद्यालयकी शिक्षिका तारा रानाभाटले भनिन्, “विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।”