कोरोना देखिने बित्तिकै आइसोलेसनमा बस्न आग्रह

-



     सफल आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र मंगलबार धुलोमा गएको भनेर बाहना नगरौँ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड(१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।’

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी १.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सक्रमण बढिरहेको छ।

मन्त्रालयले सक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। कोभिड–१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।

शून्यमा झरेको कोरोना भाइरसको सक्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय सक्रमितको संख्या २२७ पुगेको छ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ।