हेटौंडाका उद्योगमा साढे दुई अर्ब विद्युत बक्यौता अनलाइनमा राख्न बाँकी

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



हेटौंडा, २६ चैत । नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८ सय ४९ रूपैयाँ बुझाउन बाँकी छ। लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालू आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ ।

केही उद्योगविरुद्ध महसुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने ५ सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ। कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार २ सय ४१ रूपैयाँ संकलन भएको बताइएको छ। चालू आवकोे हालसम्म ५ हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने ९ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए।

कारबाहीमा परेपछि ६१७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट २ करोड ५३ लाख ९५ हजार रुपैयाँ महसुल सङ्कलन भएको जनाइएको छ। हेटौंडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रूपैयाँ मूल्य बराबरको विद्युत् बिक्री गर्दै आएको र १८ करोड ६ लाख १२ हजार रूपैयाँ महसुलबापत राजस्व संकलन हुँदै आएको छ। साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न ६ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार रूपैयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौंडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले कताए।

सो कार्यका लागि १८ करोड रूपैयाँ भन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ। मनहरिमा विद्युत् सवस्टेसन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ।