महालक्ष्मी विकास बैंकको रु १ अर्बको ऋणपत्रमा आवेदन खुल्ला

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ चैत । महालक्ष्मी विकास बैंकको रु १ अर्ब रुपैयाँ बराबरको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ आजदेखि निष्काशन गरिएकाे छ । यसकाे अवधि १० वर्ष र वार्षिक ११ प्रतिशत ब्याजदर रहेकाे छ।

बैंकका अनुसार रुपैयाँ एक हजार अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिए हो। यसबाट ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसमा २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे जनाइएको छ।

ऋणपत्रमा लगानीका लागि इच्छुक लगानीकर्ताले घटीमा २५ कित्ता माग गर्नु पर्नेछ । बढीमा चाहेजतिकाे कित्ताका लागि आवेदन दिन सकिनेछ । यसका कुनै हद खुलाइएकाे छैन।

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।