विराटनगरको कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



विराटनगर, २९ चैत । विराटनगरको कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा कोशीले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी अगाडि बढाएको हो ।

हिजो अर्थात २८ चैतमा अस्पतालले प्रत्यारोपण केन्द्रसँग मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सम्बन्धि सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र त्यसका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

साथै, कोशी प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलाइसिस विस्तार गर्न सहयोग गर्ने, मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवाका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति तालिम, फेलोसीपलगायतका शैक्षिक कार्यक्रमका लागि व्यवस्था गर्ने अस्पतालले जानकारी दिएको छ ।

दुवै संस्थाहरुबीच मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपणलगायतका कार्यहरु प्रभावकारी बनाउन सहकार्य गर्ने पनि सम्झौतामा भएको छ ।