
चितवन, ३ वैशाख । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् । रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापतिसहितका शीर्षनेता केन्द्रित भएका छन् ।
दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताए। उनका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो । उनका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन आएर फर्किए। उनी फेरि आउने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा चितवन आउँदै छन्।
सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्किए । सहमहामन्त्री जीवन परियार आउँदै छन्। केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाई, दिलमान पाख्रिन, रामहरी खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिएका छन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई सङ्गठित गर्ने काममा समेत केन्द्रीय नेता जुटेका छन् । केन्द्रीय नेता नै टोल–टोलमा पुगेर भोट माग्ने काममा खटिएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सभापति खनालले बताए। एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामा खटिएका छन् । ‘मिसन ग्रास रुट’को जिल्लाको नेतृत्व गरेर आएका उनी चुनावी अभियानमा टोल–टोलमा पुगेका छन् ।
एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिट ब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायतका नेता यहाँ खटिनुएका छन् । सचिव गोकर्ण विष्ट आउँदैछन् भने यही वैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउने कार्यक्रममा रहेको उनले बताए। अन्य नेता पनि चुनावी अभियानका लागि यहाँ आउने जानेक्रम भइरहेको छ ।
रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता यहाँ चुनावी अभियानमा जु६ेका छन्। सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता यहाँ चुनावी अभियानमा छन्। निजी सचिव सिग्देलका अनुसार अन्य नेता पनि आउने जाने भइरहेको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ । सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन् । उपनिर्वाचमा चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार रहेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




