
काठमाडौं, २५ कात्तिक । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क लिने निर्णय सच्चाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोरोनाको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले असहाय र असक्त बाहेक अरुको उपचार निःशुल्क नगर्ने निर्णय गरेपनि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको थियो । त्यसपछि दबाबमा परेको सरकारले पहिलेको निर्णयलाई सच्याउँदै कोरोना संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ।
यसैगरी कोरोनाविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको छ।
यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा सबै मन्त्रीहरुको पारिश्रमिकको ५० प्रतिशत रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ । देशभर कोरोना संक्रमणको भयावह अवस्था मध्यनजर गर्दै मन्त्रीहरुको पारिश्रमिकको आधार तलब कोषमा जम्मा गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ।
बैठकले बंगलादेशसँग मल किन्ने र स्वदेशकै मल कारखाना खोल्न प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय पनि गरेको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए भने सो निर्णयको बौद्धिक क्षेत्रका साथै सरोकारवालाले चर्को आलोचना गर्दै आएका थिए।
अर्थमन्त्री बनेलगत्तै मन्त्री विष्णु पौडेलले कोरोना बीमाको भुक्तानी एक साताभित्रै गर्ने, मंसिर १५ गते सबै स्थानीय तहमा १२ शैयासम्मको अस्पताल शिलान्यास गर्ने, असार मसान्तभित्र गरिब परिचयपत्र वितरण गरिसक्ने जस्ता महत्वपूर्ण निर्णय गरिसकेका छन् । अर्थमन्त्रीको रुपमा पौडेलको सिंहदरबार प्रवेशपछि निजी क्षेत्रका उत्साहित भएको छ भने संकटको समयमा निकास दिन सक्ने क्षमता भएका नेता भएका कारण पौडेलले कोरोनाका कारण शिथिल भएको अर्थतन्त्रलाई गति दिने विश्वास लिइएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




