बाइडेन एरिजोना राज्यमा पनि विजयी

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



वासिङटन, २८ कात्तिक । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनु भएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नु भएका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गर्नु भएको छ ।

अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गर्नु भएको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नु भएको थियो ।

यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जित्नु भएका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लीकन पार्टीले देशव्यापी अभियान चलाएको छ । ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लीकन समर्थकले आरोप लगाएका छन् । हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ ।