विराटनगरको तापक्रम ४२ डिग्री पुग्याे, जनजीवन कष्टकर बन्दै

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित



विराटनगर, २१ जेठ । केही दिनदेखि गर्मी अत्यधिक बढेपछि मोरङको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बनेकाे छ। वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ ।

बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् ।

केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । विद्यार्थी र उधाेगमा काम गर्ने मजदुरहरू चर्को घामको बढि मारमा परेकाे स्थानिय सजल राउत बताउछन।

प्रिमियर स्टिल प्रालि बिराटनगरका मेनेजर राजेन्द्र प्रसाद गुप्ताका अनुसार अत्यधिक गर्मीका कारण उधाेगहरू संचालनमा कठिनाइ परेकाे छ। गर्मिले गर्दा मजदुरहरू बिरामी पर्न थालेका छन। जसका कारण माग अनुसारकाे उत्पादन हुन सकिरहेकाे छैन । यस्ताे अवस्थामा लाेडसेडिङले झनै समस्या बढाएकाे गुप्ताकाे भनाइ छ।

विराटनगर स्थित प्रिमियर स्टिलकाे उधाेग

गर्मीका कारण विराटनगर क्षेत्रका स्कुलकाे पठनपाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय समेत गरेका छन् ।

विराटनगर–२ स्थित जनता नमूना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउछन । “कक्षा कोठामा बसेर पढ्ना असिनपसिन भइन्छ”, उनले भने “गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन् ।” विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताए । उनले भने, “गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् ।

विराटनगर–२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन असहज बन्दै गएको बताए । “विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ”, उनले भने । यस्तै विराटनगर–३ सुकन्या मार्गका विमल कोइराला गर्मीले सताएको बेला बेला बेलामा बिजुली जाँदा झन समस्या भएको बताउछन । बेलाबेलामा विद्युत् अवरूद्ध हुँदा रातभर जाग्राम बस्नु परेको उनको भनाइ छ ।

बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताउनुभयो । गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए । कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताए ।

दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताए । डा यादवले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए ।

बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताए । विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवम संस्थागत विद्यालय बन्द गरेको थियो ।