
झापा, ३१ जेठ । शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ।
व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ ।
जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताउनुभयो । विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ ।
“शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैँले आइसिटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो”, सापकोटाले भने ।
इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्याएको विद्यालयका सूचना अधिकारीसमेत रहनुभएका शिक्षक डम्मरुवल्लभ ओझाले बताए ।
यो विद्यालयमा इभेन्ट परियोजना सेकेन्ड सञ्चालनमा आएसँगै शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको ओझाको भनाइ छ ।
मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार सात सय छ । इभेन्ट परियोजनाले आइसिटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई रु ३० लाख ६२ हजार पाँच सय आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् ।
प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ । यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् ।
आइसिटीको प्रयोगले विद्यालयमा विद्यार्थीले रमाएर सिक्न पाएको र उनीहरूलाई प्रविधिको उच्चतम् प्रयोग गर्दै सिकाउन इभेन्ट परियोजनाले ठूलो सहयोग पुर्याएको विद्यालयका अर्का शिक्षक मुकुन्द ढकालले बताए । आइसिटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी ) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ । यो विद्यालयमा आवाससहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठनपाठन गराइने गरिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




