
चितवन, ५ असार । चितवनको रामनगरमा झन्डै ४ महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ। भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए ।
भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ । आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताउछिन् । उनले नियमित रूपमा श्रमदानमा खटिएको समेत बताइन ।
स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएकी छिन। उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताइन । विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो ।
द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो । रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताए । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उनको भनाइ छ ।
त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिए । साे स्थानकाे भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो । त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो ।
“मुहान र बीचको ट्याङ्की प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ ।” रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब २ हजार ५ सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । “त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ”, उनले भने, “वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।” यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उनले बताए ।
श्रमदानबाट खानेपानी ल्याउन करिब १ करोड खर्च भएको जनाइएको छ । ८ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्याङ्की मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब १ करोड खर्च भएको बताइएकाे छ । “यी सबै खर्च जनस्तरबाटै सङ्कलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौं उनले भने “यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन् ।”








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




